एजेन्सी– ला लिगा फुटबलमा शनिबार भएको खेलमा अलाभेसविरुद्ध बार्सिलोना विजयी भएको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ४–१ गोलले पराजित गरेको हो।
खेलको १४ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिज्मनको गोलमा अग्रता लिएको थियो। ४४ औं मिनेटमा आर्टुरो भिडालको गोलमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। पहिलो हाफमा २ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप २ गोल गर्दा अलाभेसले एक गोल फर्काएको थियो।
दोस्रो हाफको ५५ औं मिनेटमा पेरे पोन्सले रुबेन डुआर्टेको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे। कप्तान लिओनेल मेस्सीले ६८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पुनः २ गोलको अग्रता दिलाए।
खेलको ७१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो। प्राप्त पेनाल्टीलाई सुआरेजले गोलमा परिणत गर्दै बार्सिलोनाको फराकिलो जित पक्का गरे। यस जितसँगै बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ।
अलाभेसविरूद्धकाे उक्त गोल बार्सिलोनाका कप्तान एवं फरवार्ड लिओनेल मेस्सीले सन् २०१९ मा गरेकाे ५० औं गोल हो। ३२ वर्षीय मेस्सीले लगातार छैटौं सिजन यो उपलब्धि हासिल गरेका हुन्। समग्रमा उनले ५० गोल पूरा गरेको यो नवौं सिजन हो।
मेस्सीले अर्जे्न्टिना र बार्सिलोनाबाट खेल्दै ५८ खेलमा ५० गोल गरका हुन्। मेस्सीले पछिल्लो १० सिजनमध्ये ९ सिजनमा ५० गोल पार गरेका छन्। सन् २०१२ मा उनले सनसनीपूर्ण प्रदर्शन गर्दै विश्व कीर्तिमानी ९१ गोल गरेका थिए।