काठमाडौं– नेपाली हाँस्य कलाकारमा दिपा र दिपक पछि जमेको जोडी धुर्मुस र सुन्तली हो। यो जोडीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सेन्टी भाइरस’ फागुणको ९ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रको ‘फनफनी’ बोलको गीतले दर्शकको मिश्रित प्रतिक्रिया पाईरहेको छ। नेपालमा अहिले हाँस्य कलाकारहरुले चलचित्र बनाउने क्रम बढ्दो छ।
तर, हाँस्य कलाकारहरु विभाजित भएर चलचित्र बनाइरहेका छन्। सिताराम र कुञ्जनाले दिपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर ‘६ एकान ६ र वडा नम्बर ६’ मा काम गरेका थिए। यसपछि भने यो जोडी दिपक–दिपाको टिममा छैन। अहिले उनीहरु आफैले चलचित्र बनाएका छन्।
यसैले, चलचित्र बजारमा सिताराम–कुञ्जनाको प्रतिस्पर्धा दिपक–दिपासँग रहेको भन्ने चर्चा सुनिन्छ। यो बिषयमा कुञ्जना भन्छिन्, ‘म त दिपक र दिपालाई हरेक समय मिस गर्छु। किनकी, मेरो करिअरको सुरुवात कमेडियनको रुपमा ‘तितो सत्य’ बाट भएको हो। दिपक दाई र दिपाश्री दिदीसँग मेरो प्रतिस्पर्धा नै छैनँ। म त उहाँहरुलाई सधै सम्मान गर्छु। म उहाँहरुको फलोअर्स हुँ। फलोअर्सले प्रतिस्पर्धा गर्दैन।’
कुञ्जनाले अगाडि भनिन्, ‘सितारामजीले मिस गर्ने भनेको जीतु नेपाल र दमन रुपाखेतीलाई हो। केदार घिमिरे दाई त हाम्रो परिवारको खम्बा हो। उहाँ हटेपछि ‘मेरी बास्सै’ के भयो सबैलाई थाहा छ।’ कुञ्जनाले सबैको चलचित्र चल्नुपर्ने बताउँदै एउटै क्षेत्रमा रहेकाले सबैजनालाई मिस गर्ने बताइन्। सबै अग्रजहरुको नाम लिने कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अग्रजहरुको आर्शिवाद लाग्ने सम्भावना देखिएको छ।