बारा — सवारी ज्यान मुद्धामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४८ बर्षिय अमिरिलाल राउत भेडिहर रहेका छन्। उनी बिश्रामपुर गाउँपालिकाका अध्यक्ष समेत हुन्। इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
२०६२ सालमा भएको सवारी ज्यान मुद्दामा जिल्ला अदालतले राउतविरुद्ध २९ दिन कैद र दुई हजार जरिवाना फैसला गरेको थियो। फैसला अनुसार कैद भुक्तान नगरी बसेका राउतलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर अदालतमा पेश गरेको थियो। अदालतले पुरानो फैसलालाई कार्यान्यवन गर्ने क्रममा राउतलाई कारागार चलान गर्न आदेश दिएको हो।
आदेशसंगै प्रहरीले राउतलाई वीरगन्ज कारागार पठाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। प्रहरी उपरीक्षक खनालका अनुसार २०६२ सालमा राउतले चलाएको ना ४ प ३७८५ नम्बरको मोटरसाइकलले बाराको छातापिपरामा ६५ वर्षीया हसियादेवि चौधरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।
अदालतबाट कैद फैसला सुनाइएका राउत २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्। राउत नेपाल लोकतान्त्रित फोरमबाट उम्मेदवार बनेका थिए।