काठमाडौँ, ६ पुस - जिल्लाकै अति दुर्गम क्षेत्र भोटखोलाको हटियामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले भिस्याट प्रविधिमार्फत ईन्टरनेट सेवा सुचारु गरेको हो। स्थानीय तह बनेपछि सम्पुर्ण सेवाहरु गाउँपालिकाबाट नै प्रदान गर्ने भनिए पनि ईन्टरनेटकै अभावमा नागरिकहरु सेवाबाट वञ्चित हुँदै आएका थिए। ईन्टरनेट नभएकै कारण बैंकको शाखा स्थापना गरिएपनि सेवा दिन सकिएको थिएन।
ईमेल ईन्टरनेटकै असुविधाको कारण सञ्चारजन्य कार्यहरु सदरमुकाम खाँदबारीबाट प्रबाह गरिदै आएको थियो। तर, ईन्टरनेट जडान गरिएसँगै अब सम्पूर्ण सेवाहरु गाउँबाटै सुरु गरिएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेको भनाइ छ। सूचना र सञ्चारको पहुँचबाट टाढा रहेको भोटखोलामा सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दालाई समेत सूचना आदान–प्रदानमा सहजता समेत आएको अध्यक्ष भोटेको दाबी छ।
सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका सय किलोमिटरको दूरीमा छ। यस अघि इन्टरनेट सेवा सञ्चालन नहुँदा गाउँपालिका र वडाको सूचना प्रवाह, बैंकिङ सेवा सञ्चालन, कार्यालय सञ्चालन लगायत दैनिक जीवनयापनमा समस्या हुँदै आएकोमा अब सहजता मिलेको कर्मचारीहरुको प्रतिकृया छ। इन्टरनेट सेवा नहुँदा स्थानीय तह संगको बैंकिङ कारोबार शून्यप्राय थियो। भोटखोलामा ग्लोबल आईएमई बैंकले शाखा सञ्चालन भएपनि कारोबार गर्न खाँदबारी आउनुपथ्र्यो।
अहिले जडान गरिएको इन्टरनेट सेवाको दिगोपनाका लागि अझै धेरै काम गर्न आवश्यक रहेको मर्कन्टायल कम्युनिकेशन प्रा.लि.का सङ्खुवासभा प्रतिनिधी सुगन श्रेष्ठको भनाई छ। उहाँका अनुसार उच्च हिमाली क्षेत्र भएकाले चट्याङ र हावा हुन्डरीको जोखिम उच्च छ । प्राविधिक समस्या निरन्तर आउन सक्ने हुनाले स्थानीय गाउँपालिका र स्थानीय समुदायले प्राविधिक ब्यवस्थापनमा पहल गर्न जरुरी रहेको श्रेष्ठको भनाइ छ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको त्यस क्षेत्रमा अधिकांश समय मौसममा प्रतिकूलता आउने भएकाले दक्ष प्राविधिकको व्यवस्था मिलाई इन्टरनेट सञ्चालनमा निरन्तर ध्यान प¥याउन जरुरी रहेको श्रेष्ठले बताए। नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिमार्फत एक्सप्लोर टेक्नोलोजी प्रा।लि। सङ्खुवासभाले निःशुल्क रूपमा आवश्यक सामग्री तथा २ वर्षसम्म इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने जनाएको छ।
सरकारको घरघरमा इन्टरनेट सेवा पुराउने लक्ष्य अनुरूप भोटखोलाका अन्य क्षेत्रहरू हुङगुङ, चेपुवा, पावाखोला, किमाथांका लगायतका क्षेत्रमा इन्टरनेट जोड्ने काम भइरहेको सेवा प्रदायक संस्था मर्कन्टायलले जनाएको छ। मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले सङ्खुवासभाका दशवटै स्थानीय तह, वडाकार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा सञ्चालनका लागि जम्मेवारी लिएको छ।
गोरखापत्र दैनिकबाट