पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबार भएको खेलमा बुटवल ब्लास्टर्सले धनगढी एस्पर्टलाई पराजित गरेको छ। पोखरा रंगशालामा भएको खेलमा बुटबलले धनगढीलाई ७ विकेटले हराएको हो। जितसँगै बुटबल प्लेअफमा पुगेकाे छ।
धनगढीले दिएको १ सय ४१ रनको विजयी लक्ष्य बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि अफ्ताबुद्दिन अहमदले आक्रामक पारी खेले। उनले २३ बलमा १ चौका र ७ छक्का मद्धतमा ५२ रन बनाए भने हर्श टोन्कले २१ बलमा ४० रन बनाए। धनगढीको लागि अनिल खरेलले ४ ओभरमा १३ रन दिँदै २ विकेट लिए भने दीपक पुनले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको धनगढीले १९.५ ओभरमा अल आउट हुँदै १ सय ४० रन बनाएको थियो। उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ६ चौका र २ छक्काको मद्धतमा ६१ रन बनाए। त्यस्तै सन्दीप जोराले ३२ बलमा ३९ रन बनाए।
बुटबलको बलिङमा ललित सिंह भण्डारीले ४ ओभरमा १९ रन दिँदै ३ विकेट लिए भने अविनाश बोहराले ३.५ ओभरमा २६ रन दिँदै ४ विकेट हात पारे।