एजेन्सी– न्युजिल्यान्डको क्राइस्टचर्च गोलीकाण्ड पछि त्यहाँको सरकारले शुरु गरेको बन्दुक बाइब्याक कार्यक्रममार्फत ५६ हजारले आफ्नो स्वामित्वमा भएको बन्दुक फिर्ता गरेका छन्।
शुक्रबारसम्म म्याद रहेको उक्त कार्यक्रम क्राइस्टचर्चमा इस्लामिक प्रार्थनाघरमा पसेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेर ५१ जनाको हत्या गरेपछि ल्याइएको थियो। कार्यक्रममा ३३ हजार बन्दुक धनीले भाग लिएर ५६ हजार २ सय ५० बन्दुक फिर्ता गरेको त्यहाँको प्रहरी मन्त्रालयले जारी गरेको न्युज रिलिजमा उल्लेख छ। त्यस्तै न्युजिल्यान्डको संसदले गत अप्रिलमा देशको बन्दुक स्वामित्व सम्बन्धी कानुनमा फेरबदल गर्दै मिलिटरी प्रकारका सबै खाले सेमी अटोमेटिक बन्दुकमा रोक लगाएको थियो।
त्यस्तै बाइब्याकमार्फत १ लाख ९४ हजार निषेधित बन्दुकका पार्टपुर्जा पनि फिर्ता भएको जनाइएको छ भने २७ सय बन्दुकलाई सुधारेर वैध बनाइएको पनि उल्लेख गरिएको छ। राज्यले बन्दुक फिर्ता लिँदा १० करोड २२ लाख डलर खर्च भएको जनाइएको छ। सन् २०१७ सम्म न्युजिल्यान्डमा १२ लाख जनासँग हातहतियार रहेको एक रिपोर्टले देखाएको थियो।