काठमाडौँं_अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुमा कार्यरत कर्मचारीले जग्गाको टे«स नक्शा बनाइ दिएबापत घुस लिएको अभियोगमा अमिन सुशील बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको नक्शा बनाउने क्रममा रु चार हजार घुस मागेको आरोप लागेको छ। आयोगले आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरेको छ।
मालपोत कार्यालय हरिवन सर्लाहीका खरिदार देवीचरण न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मालपोत कार्यालय हरिवनमा सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले रु एक हजार घुस लिई खरिदार न्यौपानेलाई दिएको पुष्टि हुन गएको आयोगले जनाएको छ।
त्यस्तै ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले टिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रहरी सहायक निरीक्षक झाले रु एक हजार घुस लिएको अभियोग लागेको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ठगीसम्बन्धी उजुरी मिलाइदिने भन्दै साहले रु ९० हजार घुस मागेको अभियोग लागेको छ। रासस