काठमाडाैं_ वैदेशिक रोजगारीको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गरिने भएको छ। वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षका प्रवद्र्धनात्मक टोपी, गन्जी, पोष्टर पम्पलेट अनिवार्य रुपमा उपलब्ध गराउने भएका हुन्।
दैनिक करीब एक हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेका सन्दर्भमा विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रवद्र्धनात्मक सामग्रीसहित पठाउन लागिएको हो। भ्रमण वर्ष शुभारम्भ भएको दिनदेखि नै व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रचारप्रसार हुने सामग्री उपलब्ध गराउने छन्।
यसैगरी व्यवसायीले आ–आफ्नो कार्यालयमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुकाका साथै ‘लेटरप्याड’, ‘भिजिटिङ कार्ड’ लगायत कार्यालयका सामग्री र इमेलमा पनि भ्रमण वर्ष २०२० लेखिएको प्रतीक चिह्न प्रयोग गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए। सरकारले विभिन्न ११० मुलुकलाई संस्थागतरुपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ। वार्षिक झण्डै पाँच लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेका छन्।
भ्रमण वर्ष शुभारम्भका दिन व्यवसायीको तर्फबाट १०० जनाको पदयात्रा गर्ने तयारी अगाडि बढाइएको उनकाे भनाइ छ। यही पुस १६ गते दशरथ रङ्गशालाबाट भ्रमण वर्ष २०२० को शुुभारम्भ गरिँदै छ। सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। रासस