एजेन्सी– इटालियन सुपरकोपा फुटबलकोे उपाधि लाजियोले जितेको छ। आइतबार राति भएको उपाधि भिडन्त खेलमा लाजियोले बलियो प्रतिद्वन्दी, इटालियन च्याम्पियन युभेन्टसलाई ३–१ गोलले हराएको हो।
लाजियोको जितमा लुइस अल्बर्तो, सेनाड लुलिकल र डानिलो काताल्दीले गोल गरेका थिए। युभेन्टसको लागि पाउलो डिबालाले एक गोल फर्काएका थिए। साउदी अरेबियाको रियादमा भएको खेलको १६ औँ मिनेटमा लुइस अल्बर्तोकाे गोलमा लाजियोले शुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफ सकिन ५ मिनेट बाँकि हुँदा पाउलो डिबालाले बराबरी गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए। त्यससँगै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा पनि खेल राेमाञ्चक बनेको थियो। खेलको ७३ औँ मिनेटमा सेनाड लुलिकले गोल गरेपछि लाजियोले पुनः अग्रता लियो। युभेन्टसले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि सफल भएन। इन्जुरी समयको चौथो मिनेटमा डानिलो काताल्दीले गोल गर्दै लाजियोको ३–१ गोलको जित पक्का गरे।