काठमाडौं– कलाकारहरुलाई के को आधारमा मापन गर्ने भन्ने कुरा त्यसको आफ्नै दायरा छ। सामाजिक सञ्जालमा कलाकारलाई पछ्याउनेको संख्याको आधारमा उनीहरुको लोकप्रियता मापन गर्न सकिएला कि नसकिएला? यो प्रश्न एकातिर हुन सक्छ भने अर्कोतिर, धेरै कलाकार अहिले सामाजिक सञ्जालको लोकप्रियतामा मख्ख छन्। सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयोगकर्ताको वृद्धीसँगै नेपाली कलाकारलाई पछ्याउने र उनीहरुको बिषयमा अपडेट हुनेको संख्या पनि बढेको छ।
सामाजिक सञ्जालमा एकदमै सक्रिय नायिकाको रुपमा चिनिन्छिन्, प्रियंका कार्की। उनको लोकप्रियता फेसबुक र इन्स्टाग्राममा खुबै छ। उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ९ लाख पुगेको छ। यही खुशीमा, प्रियंकाले सबैलाई धन्यवाद समेत दिएकी छिन्। प्रियंकाले फलोअर्सहरुलाई धन्यवाद दिदै आफूलाई यति धेरै माया गरेको भन्दै खुशी व्यक्त गरेकी छिन्।
हुनत, नायिका कार्कीको क्रेज अहिले हलमा खासै छैन। उनका चलचित्रले व्यापार गर्न छाडेको केही समय भैसक्यो। उनलाई, चलचित्र बनाउनेहरुले पनि पत्याउन त छाडेका छन्। तर, इन्स्टाग्राममा पछ्याउनेको संख्या लगातार वृद्धी भैरहँदा यसले प्रियंकालाई खुशी भने दिएको छ। अहिले नेपाली कलाकारहरुको एकाउन्ट भेरिफाइड हुन थालेपछि फलोअर्सलाई भने सही एकाउन्टमा फलो गर्न सजिलो समेत भएको छ।
लिंक क्लीक गर्नुस्र