ओखलढुंगा– ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ। निर्माण कार्य सुरु भएको १३ वर्षपछि उक्त हवाई मैदान निर्माण कार्य पूरा भएको परीक्षण उडान गरिएको हो।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, ओखलढुंगाबाट निर्वा्चित प्रतिनिसिभा सदस्य यज्ञराज सुनुवारसहितका व्यक्ति लिएर खिजिदेम्बा विमानस्थल पुगेका थिए। परीक्षण उडानका लागि मन्त्री भट्टराई हेलिकप्टर लिएर ओखलढुंगा पुगेका छन्।
आवश्यक प्राविधिक तयारी गरी छिट्टै खिजिदेम्बा विमानस्थलमा नियमित उडान गर्ने पर्यटनमन्त्री भट्टराईले बताए। जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो। अर्थिक वर्ष २०७३–७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो।
नियमित उडान भएमा यस जिल्लाको पश्चिमी उत्तरी क्षेत्रका खिजीदेम्बा, सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड तथा लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा राजमार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुनेछ।