काठमाडौं– नेपालमा पहिलो पटक गीत–संगीतमा सक्रिय कलाकारहरुको पहलमा एउटा ऐतिहासिक काम भएको छ, त्यो हो प्रतिष्ठानको भवन। ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ ले नवनिर्मित भवन निर्माणको हिसाब किताब सार्वजनिक गरेको छ। शिलान्यास गरेको ७ महिनामा नै तयार भएको भवन गत मङ्सिर १ गते उद्घाटन गरिएको थियो। आइतबार आयोजित पत्रकार सम्मेलनमा भवन निर्माणको लागत, संकलित रकम र वचत रकमबारे जानकारी दिइएको थियो। निवर्तमान अध्यक्ष तथा भवन निर्माण कार्यसमिति संयोजक बद्री पंगेनीले भवन निर्माणका लागि १ करोड २० लाख ३४ हजार ६ सय ९१ रुपैयाँ ५२ पैसा लागेको जानकारी दिए।
जसमध्ये ९८ लाख ६३ हजार १ सय ७९ रुपैयाँ ५२ पैसा नगद र २१ लाख ७१ हजार ५ सय १२ रुपैयाँ जिन्सी खर्च भएको छ। ‘यो भवन निर्माणको काम सम्पूर्ण लोक तथा दोहोरी गीत प्रतिष्ठानका व्यक्तित्व र शुभचिन्तकको सहयोगबाट सम्भव भएको छ’ उनले भने। भवन निर्माणको लागि देश तथा विदेशबाट सहयोग लिइएको थियो। नगद र जिन्सी गरी १ करोड ४८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ सहयोगको कबोल भएकामा १ करोड ३० लाख ६९ हजार ८ सय ४९ रुपैयाँ संकलन भएको प्रतिष्ठानले जनाएको छ।संकलित रकममध्ये १० लाख ३५ हजार १ सय ५७ रुपैयाँ ४८ पैसा प्रतिष्ठानको खातामा बचत छ। १७ लाख ७४ हजार ५ सय ४३ रुपैयाँ उठ्न बाँकी छ।
निवर्तमान अध्यक्ष बद्री पंगेनीले संकलित र बाँकी रकम गरी २८ लाख ९ हजार ७ सय रुपैयाँ ४८ पैसाको हिसाब अध्यक्ष रमेश बिजी र कोषाध्यक्ष राजु ढकाललाई हस्तान्त्रण गरेका छन्। भवन निर्माणको लागि २ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको तस्वीर कार्यालयको बैठक कक्षमा राखिने पंगेनीले बताए। ‘२५ हजार भन्दा बढी सहयोग गर्नेको नाम शिलापत्रमा लेखिने पनि उनले जानकारी दिए। प्रतिष्ठानको कोरिया शाखाले १० लाख सहयोग गरेकाले भवनको एउटा कोठा कोरिया शाखाका रुपमा स्थापित गर्ने उनले बताए।
पत्रकार सम्मेलनमा कलाकार कल्याणकारी कोषका सदस्य चन्द्र शर्माले १ करोड भन्दा बढी रकम कोषमा रहेको जानकारी गराए। जसमध्ये ८० लाख मुद्दती खातामा र २१ लाख वचत खातामा रहेको छ। वद्री पंगेनीको कार्यकालमा घोषणा गरिएको ‘नव प्रतिभा प्रोत्साहन कोष’ मा भने अहिलेसम्म रकम नभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। नवप्रतिभालाई प्रोत्साहन गर्नका लागि भनी यो कोषको घोषणा गरिएको थियो। यो बारेमा अब के हुने भन्ने कुराको जानकारी फेरि गराईने उनले बताए।