वीरगञ्ज– वीरगञ्जमा रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग भटिएको छ। घिउ उत्पादनमा संलग्न ३ जनालाई कारखानाबाटै प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीले फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरकको अनुसार विशेष सूचनाका आधारमा प्रहरीले छानबिनका लागि प्रहरी त्यहाँ प्गेका थिए र त्यसैक्रममा रसायन प्रयोग गरी घिउ उत्पादन गरेको फेला परेको हो। घिउमा कुन रसायन प्रयोग हुँदै आएको थियो भन्ने कुरा भने हालसम्म खुलेको छैन।
एसपी राठौरले भने, ‘त्यसरी उत्पादित घिउमा पूजा, दुर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ।’ प्रक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादव रहेका छन्। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
कारखानाबाट नक्कली घिउ बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घिउ र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घिउ पनि बरामद भएको छ। नक्कली घिउ बनाउन प्रयोग गरिँदै आएको भाँडाकुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकर पनि प्रहरीले बरामद गरेको एसपी राठौरले जानकारी दिए।