काठमाडौं– सलमान खानको नयाँ चलचित्रको पर्खाईमा बस्नेहरुको जमात एकदमै ठूलो छ। शुक्रबारदेखि रिलिज भएको उनको चलचित्र ‘दबंग–३’ ले नेपालका मल्टिप्लेक्स कब्जा नै गर्यो। लामो समयदेखि हलमा चलचित्र नभएका कारण यो चलचित्रले मल्टिप्लेक्समा कब्जा जमाएको थियो। यो शोजलाई क्यूएफएक्स चेनले देशभर ८८ शो दिएको थियो। शुक्रबार र शनिबार राम्रै कमाई गरेको यो चलचित्र आइतबारदेखि भने कमजोर वर्ड अफ माउथको चपेटामा परेको छ।
आइतबारदेखि नेपाली हलमा दर्शकको संख्या कमजोर छ। ‘दबंग–३’ लाई हल सञ्चालकले उल्लेख्य शोज दिएपछि चलचित्र ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारीले भने हलवालाहरुमाथि आक्रोश पोखेका छन्। उनले नेपाली चलचित्र भएकै कारण आफ्नो चलचित्रले कम शोज पाएको लेखेका छन्। विशेषगरि, ‘छ माया छपक्कै’ ले क्यूएफएक्स चेनमै कम शोज पाएको थियो। यो गुनासो उनले बेला–बेलामा मिडियामा पोखिरहेका छन्।
उनी लेख्छन्, ‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नु भयो। यो दबंग भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली चलचित्र चलचित्र छक्का पन्जा सिरिजहरु चलेका थिए। तर, शोज चाहि ४–५ गुणा कम थियो। नेपाली चलचित्र भएकै कारण कम दिइएको थियो।’ रोहितको कुरामा समर्थन गर्दै चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले लेखेका छन्, ‘सत्य कुरा। सही हो। देशै उताबाट चल्या छ।
हलको के कुरा, निर्माताहरु हलवालासँग डराउँछन्, हलवाला वितरकसँग् डराउँछन्। वितरक उताको खान्छन् अनि यता कराउँछन्।’ नेपाली चलचित्रलाई केही हल सञ्चालकले पाखा र विदेशीलाई काखा गर्दै आएको उदाहरण यसअघि पनि थुप्रै पटक नदेखिएको भने होइन। उनीहरुको यो कुराले सबै हलवालाहरुलाई सोच्न बाध्य बनाएको छ।