एजेन्सी– बर्षको अन्त्यतिर बलिउडमा सिनेमाको गहिरो समिक्षा हुने गर्दछ। सन् २००० को दोश्रो दशक बलिउडका कलाकारका लागि कोहीलाई सुखद त कोहीका लागि खराब रह्यो। बलिउडमा यो दशकमा थुप्रै कलाकारले बलियो स्थान बनाए। केही कलाकारको भने यो दशक चम्किएन। बलिउडमा ‘किङ खान’ को उपाधि पाएका नायक शाहरुख खानका लागि पछिल्लो १० बर्ष औषत रह्यो।
सन् २०१४ सम्म उनका लागि सुखद नै थियो। तर, पछिल्लो ५ बर्षमा उनका चलचित्रले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसक्दा उनलाई अन्य नायकहरुले उछिने। यो दशक साहरुखको करिअरका लागि विर्सनलायक बन्यो भन्दा हुन्छ। तर, यही दशकमा उनले धेरै प्रयोगात्मक चलचित्रमा काम गरे।
सन् २०१० मा शाहरुख अभिनित चलचित्र ‘माई नेम इज खान’ रिलिज भयो। यो चलचित्रले व्यापार पनि राम्रो गर्यो भने शाहरुखलाई थुप्रै अवार्ड पनि जितायो। सन् २०११ मा शाहरुख अभिनित प्रतिक्षित चलचित्र ‘रावन’ रिलिज भएको थियो। यो चलचित्र बक्स अफिसमा औषत रह्यो। तर, चलचित्रले बलिउडमा भीएफएक्सको नयाँ तरंग भने सिर्जना गरेको थियो। यही बर्ष शाहरुख अभिनित अर्को चलचित्र ‘डन–२’ रिलिज भयो। यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो।
सन् २०१२ मा शाहरुख अभिनित चलचित्र ‘जब तक हे जान’ रिलिज भएको थियो। यो चलचित्रले राम्रो व्यापार गर्यो। सन् २०१३ मा रिलिज भएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ ले शाहरुखको स्टारडम चम्काइदियो। यो चलचित्रले तत्कालिन समयमा सबै रेकर्ड ब्रेक गरेको थियो। यस्तै, सन् २०१४ मा रिलिज भएको शाहरुखको चलचित्र ‘ह्याप्पी न्यू इयर’ पनि बक्स अफिसमा चम्कियो। ‘चेन्नई एक्सप्रेस’ पछि २ सय करोडको क्लबमा पुग्ने शाहरुखको यो दोश्रो चलचित्र बन्यो। तर, चलचित्रको वर्ड अफ माउथ सुखद थिएन।
शाहरुखले अभिनय गरेको चलचित्र ‘दिलवाले’ सन् २०१५ मा रिलिज भयो। यो समयमा शाहरुख एक विवादमा फसे। जसकाकारण, उनको चलचित्र रिलिजको समयमा थुप्रै विरोधका घटना भए। बक्स अफिसमा यो चलचित्र हिट त भयो, तर अपेक्षित व्यापार गर्न सकेन। सन् २०१६ मा शाहरुखले ‘फ्यान’ नामक चलचित्रमा काम गरे। यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि असमर्थ भयो।
यो चलचित्र चिप्लिएपछि शाहरुखको करिअर अझै ओरालो लागेको टिप्पणी भयो। सन् २०१६ मै शाहरुखले चलचित्र ‘डीयर जिन्दगी’ मा काम गरे। यो चलचित्रले बक्स अफिसमा राम्रै कमाई गर्यो। तर, यो चलचित्रको सफलताको जस नायिका आलिया भट्टको पोल्टामा गयो।
सन् २०१७ मा रिलिज भएको चलचित्र ‘रइस’ बक्स अफिसमा औषत हिट भयो। शाहरुखको करिअरका लागि सबैभन्दा खराब चलचित्र ‘जब ह्यारी मेट सेजल’ बन्न पुग्यो। बक्स अफिसमा सय करोड पनि कमाउन नसकेको यो चलचित्रलाई दर्शक र समिक्षक दुबैले रुचाएनन्। यसपछि, शाहरुखको आशा सन् २०१८ को डिसेम्बरमा रिलिज भएको चलचित्र ‘जीरो’ मा थियो।
तर, यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो। यो चलचित्र नचलेपछि शाहरुखले सन् २०१९ मा चलचित्रमा काम नै गरेनन्। यसरी, यो दशकमा शाहरुखले प्रयोग बढी गरेका छन्। जसमा उनी थोरै मात्र सफल भएको पाइन्छ। शाहरुख सन् २०२० शुरु भएसँगै नयाँ चलचित्र घोषणा गर्ने तयारीमा छन्। शाहरुखको यो बर्ष सुखद रहोस्।