एजेन्सी–विमाननिर्माता कम्पनी बोइङले कम्पनीको प्रमुख कार्यकारी डेनिस मुइलेनबर्गलाई हटाउने निर्णय गरेको छ। सो कम्पनीले सोमबार उक्त घोषणा गरेको हो। बोइङले आफ्नो ७३७ म्याक्स सिरिजको विमानको उत्पादन आउँदो जनवरी महिनादेखि स्थगित गर्ने घोषणा गरेको एक साताकै बीचमा यसका प्रमुखलाई पदबाट हटाउने निर्णय गरिएको हो।
सो सिरिजका दुई वटा विमान दुर्घटनामा परेपछि ९ महिना अघि सबै विमान ग्राउण्डेड भए पनि विमानको उत्पादन भने निरन्तर रुपमा भइरहेको थियो। अहिलेका अध्यक्ष डेभिड कल्हाउनले आउँदो जनवरी १३ तारेखदेखि कार्यकारी प्रमुख र अध्यक्ष दुवै पदमा रहेर काम गर्ने भएका छन्।बोइङले तत्कालदेखि लागु हुने गरी लरेन्स केल्नरलाई कम्पनीको नन एक्जुकेटिभ चेयरम्यान घोषणा गरेको छ।
बोइङको बोर्ड अफ डाइरेक्टरको बैठकले सो निर्णय गरेको जनाउँदै कम्पनीको विश्वस्नीयता पुनस्र्थापित गर्नका लागि नेतृत्व फेर्नुपरेको सोमबार जारी गरिएको वक्तव्यमा जनाइएको छ।बोइङ्गको ७३७ म्याक्स सिरिजका दुई विमान दुर्घटनामा परेपछि ती विमानहरु ९ महिना अघिदेखि थिए।
इण्डोनेसिया र इथियोपियामा दुई वटा ७३७ विमान दुर्घटना हुँदा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।सो सिरिजका विमानको फिचरमा नै समस्या भएको भन्ने कुरा चालकहरुले बताएपछि ७३७ म्याक्सलाई संसारभरी ग्राउन्डेड गरिएको थियो।
यो वर्षको अन्त्यसम्ममा बोइङ्गले सो सिरिजको विमानलाई उडानमा ल्याउने यसअघि प्रतिबद्धता जनाएकोमा अहिले आएर उत्पादन नै स्थगन गर्ने घोषणा गरेको हो।अमेरिकी नियामक निकायले सो सिरिजका विमानलाई तत्कालै उड्नका लागि अनुमति दिन नसकिने जनाएको थियो।बोइङ्ग सियाटलस्थित अमेरिकी कम्पनी हो। जुन सबैभन्दा ठूलो विमानको निर्यातक कम्पनी मानिन्छ।
सो कम्पनीले एक वक्तव्य जारी गरी सोसँग सम्बन्धित कामदारलाई नहटाउने भए पनि यसको उत्पादन बन्द गर्दा वितरण र व्यापक रुपमा अर्थतन्त्रलाई असर गर्ने जनाएको थियो।
उत्पादक कम्पनीले सुरक्षित रुपमा ७३७ म्याक्सलाई सेवामा फर्काउने आफ्नो प्राथमिकता भएको जनाएको छ। द्ई साता अघि सो सिरिजका बिमानको बारेमा अमेरिकाको संसदीय समितिमा पनि सुनुवाई भएको थियो।
अक्टोबर २०१८मा इण्डोनेसियामा सो सिरिजको एक विमानदुर्घटनामा परेपछि इथियोपियामा मार्च २०१९ मा अर्को विमानदुर्घटनामा नपरेसम्म त्यसको उडान ग्राउण्डेड भएको थिएन। तर, पछि सो सिरिजका बिमानमा नै खराबी भएको पुष्टी भएपछि विश्वभरी नै ग्राउन्डेड गरिएको थियो।७३७ म्याक्सलाई ग्राउन्डेड गर्दा यसअघि नै सो कम्पनीलाई ९ बिलियन डलर नोक्सानी भएको जनाइएको छ।
उसको स्टोरमा अहिले सो सिरिजका ४०० विमान भएको बताइएको छ। बीबीसी