पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा आज (मंगलबार) चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दैछन्। उक्त खेल पोखरा रंगशालामा बिहान ११ः ३० मा शुरु हुनेछ।
नेपाली क्रिकेटका पूर्व कप्तान तथा अलराउण्डर पारस खड्काको कप्तानीमा रहेको चितवन र हालको राष्ट्रिय टिमको कप्तान रहेका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंबीचको खेललाई दुई लेजेण्ड नेपाली क्रिकेटरबीचको भिडन्तको रुपमा हेरिएको छ।
प्ले अफमा स्थान बनाउन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पारस खड्काको नेतृत्वमा रहेको चितवनलाई हराउँनैपर्ने दबाब छ। चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ। खेल जितेमा काठमाडौं प्ले अफमा पुग्नेछ।
तर काठमाडौं पराजित भएमा भने अन्य खेलको नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ। चितवन भने यसअघि नै प्ले अफ पुगिसकेको छ। काठमाडौंविरुद्ध जित निकाल्दै चितवन अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छ। खेल जितेमा चितवन शीर्षस्थानमा रहँदै फाइनलमा पुग्नेछ।