पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा आज (मंगलबार) चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ। पोखरा रंगशालामा जारी खेलमा टस हारेर चितवन पहिले ब्याटिङ गरिरहेको छ।
काठमाडौं टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको हो। चितवनले जारी अवस्थामा ३.४ ओभरमा १ विकेट गुमाउँदै १२ रन बनाएको छ। नेपाली क्रिकेटका पूर्व कप्तान तथा अलराउण्डर पारस खड्काको कप्तानीमा रहेको चितवन र हालको राष्ट्रिय टिमको कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंबीचको खेललाई दुई लेजेण्ड क्रिकेटरबीचको भिडन्तको रुपमा हेरिएको छ।
प्ले अफमा स्थान बनाउन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पारस खड्काको नेतृत्वमा रहेको चितवनलाई हराउँनैपर्ने दबाब छ। चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ। जितले काठमाडौं प्ले अफमा पुग्नेछ।
तर काठमाडौं पराजित भएमा भने अन्य खेलको नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ। चितवन भने यसअघि नै प्ले अफ पुगिसकेको छ। काठमाडौंविरुद्ध जित निकाल्दै चितवन अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छ। खेल जितेमा चितवन फाइनलमा पुग्नेछ।