एजेन्सी– झारखण्ड विधानसभामा झारखण्ड मुक्ति मोर्चा (झामुमो), भारतीय नेसनल काँग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। ८१ सदस्यीय विधानसभामा यो गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ।
जसमध्ये झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले एक स्थानमा जितेको छ। २०१४ मा झामुमोको १९ र काँग्रेसको ६ सिट थियो। केन्द्रमा भारी बहुमत सहित सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) झारखण्डमा भने दोस्रो ठूलो दलमा सीमित भएको छ। यसपटक भाजपाले २५ सिट हासिल ग¥यो। गत विधानसभा निर्वाचनमा ३७ स्थानमा जितेर उसले पाँच वर्ष सरकार चलाएको थियो।
भाजपाका झारखण्डका मुख्यमन्त्री रघुबर दास स्वतन्त्र उम्मेदवार सरयु रोयसँग पराजित भए। उनी नरेन्द्र मोदी, अमित शाह लगायत केन्द्रीय नेताहरूको विश्वासपात्र मानिन्थे। दासले चसनावी नतिजा आफ्नाे पक्षमा पार्छन् भन्ने विश्वास गरिएकाे थियाे। दासले २००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पुरा गरेका थिए।