काठमाडौं– नेपाली चलचिलाई नयाँ–नयाँ शैलीमा प्रचार–प्रसार गर्न थालिएको छ। विशेष त यस्ता शोले चलचित्रको प्रचार सँगै सामाजिक सहयोगको लागि पनि गर्ने गरिन्छ। सोमबार चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ को विशेष शो आयोजना गरिएको छ। काठमाडौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो। करिब चार बर्ष पहिले नै यो चलचित्र हलमा लागि सकेको थियो।
सोमबार विशेष शो भने एसिड पीडित मुस्कान खातुनको सहयोगका लागि गरिएको थियो। ‘लाइन्स क्लब अफ काठमाडौ’ ले मुस्कानलाई सहयोग गर्ने उद्देश्यले उक्त शोको आयोजना गरेको थियो। विशेष शोबाट उठेको रकम मुस्कानको उपचारको लागि दिइएको छ। अबको केही दिनमा विशेष शोबाट उठेको रकम र थप केही रकम जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लवले बताएको छ।
चलचित्रको विशेष शोमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि उपस्थित थिए। उनले मुस्कानको सहयोगको लागि यस्ता कार्यक्रमहरु हुनु निकै राम्रो भएको बताए। उनले भने, ‘जसले जहाँबाट सक्छ सोही स्थानबाट सहयोग गर्ने हो। यो उदाहरणीय काम हो।’ मुस्कानको पढाईको लागि सरकार समक्ष सहयोगको कुरा गर्ने पनि उनले विश्वास दिलाए। विशेष शोमा यो चलचित्रका नायक तथा निर्माता रमित ढुंगाना पनि उपस्थित थिए।
उनले, आफूले मुस्कानको सहयोगका लागि चलचित्र उपलब्ध गराएको बताए। चलचित्र हेर्न मुस्कान पनि हलमा पुगेकी थिइन्। चलचित्र हेरेपछि मुस्कानले भनिन्, ‘मलाई अहिलेसम्म धेरै जनाले सहयोग गर्नुभएको छ। यो सहयोगको लागि पनि सम्पूर्णलाई धन्यवाद। तपाईहरुको सहयोगले मैले लक्ष्य भेट्नेछु।’ यो सहयोगले उनको जीवनलाई परिवर्तन गर्न सहयोग गर्ने देखिएको छ।