काठमाडौं — २७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत होउ यान्छीले आफूलाई ट्वीटरमा फलो गर्नेलाई पुरस्कार दिने भएकी छिन्।
यदि कसैले पुरस्कार पाउने हो भने यान्छीलाई ‘फलो’ गर्ने मात्र हैन की राजदूत यान्छीको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेछ।
२६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरबाट जानकारी दिएकी छन्। उनले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाएकी छन्।
गत जुनदेखि ट्वीटर एकाउन्ट सञ्चालन गरेकी यान्छीले २९ जनालाई फलो गरेकी छन्। त्यसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन्।
चीनमा भने ट्वीटर, फेसबुक, गुगल, इन्स्टाग्राम लगायतका सञ्जाल प्रतिबन्धित छ।