काठमाडौँ, २० माघ – बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले हलिउड चलचित्रमा काम गर्ने भएकी छन्। अहिले उनी हलिउडको एक नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन्। फिल्मी इन्डस्ट्रीमा आफ्नो अभिनयबाट उच्च स्थान बनाएकी उनी प्रोडक्सनतर्फ लागेकी हुन्।
प्रियंकाले अब रजनीश ओशोकी सहयोगी माता आनन्द शीलामा आधारित भएर एक चलचित्र निर्माण गर्ने भएकी छन्। माता आनन्द शीला, गुरु रजनी ओशोको सहयोगी थिइन्। आनन्द शीलाको भूमिका भने पियंका स्वयंले निर्वाह गर्नेछिन्।यस चलचित्रको निर्देशन बैरी लेविन्सनले गर्नेछन्। एलन डिजेनेरसको फेमस च्याट शो ‘द एलन शो’मा प्रियंकाले यसबारे जानकारी दिइन्।
प्रियंका अहिले १४ फेबु्रअरीमा रिलिज हुन लागेको चलचित्र ‘इसन्ट इट रोमान्टिक’को प्रचारमा लागिरहेकी छन्। माता आनन्द ओरेगनले यूएसस्थित रजनीशपुरम आश्रम सन् १९८१ देखि १९८५ सम्म सम्हालेकी थिइन्। सन् १९८५ मा उनलाई हत्या प्रयासको आरोपमा जेल सजाय सुनाइएको थियो। उनले ३९ महिना जेल जीवन बिताइन्। ओशोको आश्रमको कहानीमा एक नेटफ्लिक्स डक्युमेन्ट्री ‘वाइल्ड वाइल्ड वल्र्ड’ पनि बनाइएको छ।
प्रियंका हाल ‘स्काई इज पिंक’ नामक बलिउड चलचित्रमा व्यस्त छिन्। उनी २०१६ पछिको लामो समयपछि बलिउडमा देखिन लागेकी हुन्। उनको सफरको सुरुआत अमेरिकी टीभी सिरिज ‘क्वान्टिको’बाट भएको थियो।