काठमाडौं– नायक रमित ढुंगाना कुनै समयका चल्तीका नायक हुन्। उनको ‘राजा साहेब’ नामक चलचित्र बन्ने नबन्ने अझै टुंगो छैन। तर, यो चलचित्रले नायक ढुंगानालाई भने हल्ला गर्ने राम्रै माध्यम बनाइदिएको छ। यो चलचित्रको शुरुवातमा नायक रमित ढुंगानाले १८ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर चर्चा भयो। तर, पछि चलचित्रमा नायिका नै नपाएको भन्ने खबरले हल्ला मच्चियो।
रमित र यो चलचित्रका निर्देशक मिलेर जसोतसो गरेर दुई नायिका त खोजे। कार्यक्रमको घोषणा पनि एक कार्यक्रमको आयोजना गर्दै गरियो। तर, चलचित्र घोषणा भएको केही महिना वितिसक्दा पनि यसको छायाँङ्कन प्रारम्भ हुन सकेको छैन। यो चलचित्रको निर्माण अब हुन्छ या हुँदैन, एकिन छैन। घोषणा हुँदा जसले चलचित्र बनाउने तयारी गरेका थिए, अहिले ती निर्माता छैनन्। उनीहरु अहिले निर्देशक निर्माता खोज्न लागि परेका छन्।
निर्माता नै नभएपछि कसरी चलचित्र बनोस्। नायक ढुंगाना चलचित्र क्षेत्रबाट हराइसकेको अवस्था छ। त्यसमाथि घोषणा भएको चलचित्र नै नबन्दा उनलाई झनै गाह्रो पक्कै भएको छ। तर, चलचित्र बनोस् या नबनोस् रमितको चर्चा भने भएकै छ।