काठमाडौं — अर्थ्विद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द प्रसाद पोखरेल, अमेरिकाका लागि पूर्व नेपाली राजदुत डा. शंकर शर्मा, श्रीलंकाका लागि पूर्व राजदुत प्रा.डा. विश्वम्भर प्याकुरेल, अर्थ्विद् डा. डील्लीराज खनालले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका हुन्।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै प्रा.डा. गोविन्दराज पोखरेलले एमसीसीबारे धेरै विवाद गर्न नहुने धारणा राखे। उनले भने,‘यसबारेमा कुनै विवाद नगरौं, बरु यसलाई अगाडि बढाऔं। संसदबाट अनुमोदन गर्नुपर्छ।’ उनले ५० करोड डलर बराबरको उक्त एमसीसी कम्प्याक्ट नेपालकै हितमा रहेको पनि सुनाए। ‘यसलाई विवादमा ल्याउनहुँदैन्’–उनले भने,‘यो नेपालको हितमा भएकोले यसलाई पास गरौं।’
पोखरेलले कम्प्याक्ट एग्रिमेन्टमा ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे केहीपनि कुरा उल्लेख नभएको जिकिर गरे। उनलेभने,‘शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री हुँदा कम्प्याक्ट एग्रिमेन्ट भएको हो। त्यतिवेला हामीले नै योजना आयोगमार्फत सचिवालय स्थापना गरेका थियौं।’ एमसीसी परियोजनाका प्राथमिक कार्यक्रममा ईनर्जी र पूर्वाधार विकास भएकोले नेपालमा ईनर्जी ब्यांकिङको लागि पनि यसले ठूलो भूमिका खेल्ने उनको विश्वास छ।