काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानु अघिल्लो दिन नाईट क्लब गएपछि ४ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्धमा पर्नेमा अन्जन विष्ट, सन्तोष तामाङ, विमल घर्ती मगर र दिनेश राजवंशी रहेका थिए। उनीहरुलाई अनुशासनहीन काम गरेको भन्दै अनुशासन समितिले कारबाही गरेको हो। समितिले अञ्जन र सन्तोषलाई ४५ दिन र विमल घर्तिमगर र दिनेश राजवंशीलाई ९० दिन घरेलु र अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो।
उक्त सजायमा पुनरावलोकन समितिले पुनर्विचार गरेको छ। एन्फाका अनुसार यी खेलाडीहरुलाई यसअघि अनुसाशन समितिले कारबाही गरेको दिनदेखिको प्रतिबन्ध सुनाएको थियो भने पुनरावलोकन समतिले घटना घटेको दिनदेखि लागू हुने गरी भनेका कारण उनीहरुको प्रतिबन्धको समय कम भएको छ।
एन्फाले चारै खेलाडीमाथि गरिएको जनही ५० हजार रुपैयाँ जरिवानाको सजाय भने यथावत रहने बताएको छ।