काठमाडौँ– नेपालमा फोरजी सेवा सुरु भएको करिब २ वर्षमा नै प्रयोगकर्ताका संख्या ४५ लाख नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार दूरसञ्चार सेवा प्रदायकको फोरजी प्रयोगकर्ता मध्ये सबैभन्दा बढी एनसेलको रहेको छ।
एनसेलले नेपाल टेलिकमले भन्दा ५ महिना पछि, २०७४ जेठबाट फोरजी सेवा सुरु गरेको हो र सबैभन्दा धेरै फोरजी प्रयोगकर्ता पनि एनसेलका नै छन्। असोजसम्म एनसेलका मात्र फोरजी प्रयोगकर्ता ३४ लाख ९० हजार २८ पुगिसकेका थिए। जब कि सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या ८ लाख ३८ हजार मात्रै छ। भदौ र असोजको बिचमा नेपाल टेलिकमको केबल ३ हजार १२७ फोरजी प्रयोगकर्ता थपिएका छन्।
सोही अवधिमा एनसेल र स्मार्ट टेलिकमले भने ठुलोमात्रामा फोरजी ग्राहक थपेका छन्। एनसेलले एक महिनाको अवधिमा १ लाख ९७ हजार भन्दा बढि ग्राहक थप गरेको छ भने स्मार्टले ८ हजार भन्दा बढी नयाँ ग्राहक बनाएको छ। हाल स्मार्टको कूल फोरजी प्रयोगकर्ता दुई लाख ३५ हजार ७ सय ७७ रहेका छन्।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा टेलिकमले जम्मा ३ हजार १ सय २७ ग्राहक मात्र थप्न सक्नुमा फोरजी सेवाको विस्तारमा भएको ढिलाई प्रमुख कारण हो। टेलिकमले असोज १५ देखि काठमाडौं र पोखरा बाहिर फोरजी सेवा सञ्चालनमा ल्याउन थालेको थियो। त्यसैले असोजको तथ्याङ्कमा ग्राहक नबढेको टेलिकमले जनाएको छ।
तीब्र गतिको इन्टरनेट ब्रोडब्याण्ड प्रयोगकर्ता दुई करोड ७ लाख ८१ हजार नौं सय ७५ पुगेको छ। त्यसमध्ये १ करोड ६१ लाख ५५ हजार ४ सय १८ मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता रहेका छन्।