काठमाडौं — आफू सहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी आइपुगेका छन्।
उनले आज रिर्पोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटना वारे यर्थाथ जानकारी गराउदै बझाङको खप्तड छान्ना गाउँपालीका वडा न. ६ का वडाध्यक्ष तिलक बहादुर खड्का घटनामा संलग्न भएपनि उनले उन्मुक्ति पाएको भन्दै कडा कारवाहीको माग गरेका छन्।
उनले भने, ‘जनप्रतिनिधिले म जस्तो बृद्धलाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन्। उनीमाथि कडा कारवाही होस।’ पिडित खड्काले दुई छोरा र तीन बुहारीमाथी पनि आक्रमण भएको बताए। कुटपिटबाट खड्काको तीन ठाँउमा खुट्टा भाचिएको छ भने छातीको करङ पनि भाचिएको छ। उनको आँखा, नाक र मुखमा पनि गहिरो चोट लागेको छ।
वडाध्यक्ष सहित केही व्यक्तिलाई बझाङमा ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गरिएको जानकारी दिए। उनले आफुमाथी आक्रमण गर्नेमा वडाध्यक्ष तिलक बहादुर खड्का सहित वडासचिव दिपक ब. खड्का , नेपाली सेनामा कार्यरत चक्रबहादुर खड्का, भरत थापा, जग खड्का, वसन्त खड्का, सन्न्तोष खड्का, किरण खड्का, ओब्जन खड्का र ऐकेन्द्र खड्का रहेको बताए।
कार्तिक २ गते पिडित डबल ब. खडकासंग स्थानिय भरत थापासंग पानीको वारेमा विवाद भएको र त्यसको भोलिपल्ट कात्र्तिक ३ गते दिउँसो वडाध्यक्ष लगाएतको समुहले छोरा बुहारीसहितलाई ज्यान मार्ने मनासायले कुटपिट गरेको बताए।
कुटपिट पछि चोट लागेका खड्काको परिवारलाई धनगढी मायामेट्रो अस्पताल लगिएको र छोरा र बुहारीहरलाई घर पठाई बृद्ध डबल खड्कालाई काठमाडौ पठाइएको थियो। उनले भने, ‘मेरो काठमाडौको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ।’
बझाङ अदालतमा पिडकहरुविरुद्ध मुद्धा दायर गरेको भएपनि पिडित खड्काको परिवारलाई बोलाएर केहि आजसम्म नसोधिएको गुनासो पिडित परिवारले गरेका छन्। ५लाख ७४ हजार धरौटी लिई बझाङको जिल्ला अदालतले पिडकहरुलाई सामान्य धरौटिमा छोडिदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनका छोरा तेज बहादुर खड्काले आफूहरु अन्यायमा परेको बताए। उनले भने ‘हाम्रो परिवार अन्यायमा परेको छ, हामीलाई न्याय दिलाइदिनु पर्यो। वडाध्यक्षले नै कुटपिट गर्छन् भने जनता कसरी सुरक्षित हुने ?’