काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाईकाे समर्थन गुमाएको छ। समाजवादी पार्टीले सरकार छोडेसँगै सरकार साधारण बहुमतमा खुम्चिएको छ।
यससँगै संसदमा दुई तिहाइ बहुमत चाहिने विषयलाई अगाडि बढाउने कुरामा सरकार अप्ठ्यारोमा परेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पु¥याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ।
तर नेकपासँग १ सय ७४ जना सांसद छन्। समाजवादी पार्टीका १७ जना सांसद छन्। पहिले १६ जना सांसद रहेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि समाजवादी पार्टीमा १७ सांसद पुगेका हुन्।
संविधान संशोधनलाई मुख्य एजेण्डा बनाउँदै समाजवादी पाटी सरकारमा सामेल भएको थियो। सोमबार मन्त्रिपरिषद बैठकमा समाजवादीले पार्टीका अध्यक्ष उपेन्द्र यादवले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि समाजवादीले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे। उपप्रधानमन्त्री यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राजिनामा दिइसकेका छन्।