काठमाडाैं _राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले महिला र बालबालिकाको पक्षमा सामुदायिक रेडियोहरुले आवाज उठाउनुपर्ने बताएका छन्।
सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोराव)द्वारा आयोजित ‘विविधता, बहुलता, र लैङ्गिक समानता सामुदायिक प्रसारणमा महिला सहभागिता’ विषयक राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले बालविवाह अझै नहटेको र महिलामाथि हुने हिंसा अन्त्य नभएको भन्दै संविधानमा उल्लेख भएको अधिकार व्यवहारमा लागू गर्न पत्रकारले विषयवस्तु उठान गर्नुपर्ने बताए।
सामुदायिक रेडियोहरुको योगदानको प्रशंसा गर्दै उनले महिलाका आवाज र समानताका पक्षमा यस किसिमका कार्यक्रमले योगदान गर्ने बताए। महिलाको योगदान र भूमिकाले समृद्ध नेपाल र सुखी नेपाली नारालाई सार्थक पार्ने उनको भनाइ थियो।
नेपालको कानून र नीति अझै महिलामैत्री नभएकाले यसको परिवर्तन अत्यावश्क रहेको उपाध्यक्ष दाहालको भनाइ थियो। महिला र पुरुषबीच श्रम, रोजगार, विवाह तथा अन्य सामाजिक चलनमा अझै विभेद् नहटेको उनले बताए।
एकोरावका अध्यक्ष सुवास खतिवडाले ७० भन्दा बढी भाषामा सामुदायिक रेडियोहरुले समाचार प्रसारण भइरहेको र समुदायको आवाज बनेको बताउनुभयो। सामुदायिक रेडियोहरुले महिलाको मुद्दा केके उठाइरहेका छन् र महिलाको पक्षमा सामुदायिक रेडियोले उठाउनुपर्ने विषयवस्तु उठे कि उठेनन् भन्ने कुरा हेर्नुपर्ने खतिवडाले बताए।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले परिवर्तन आफैँले शुरु गर्नुपर्ने औँल्याउँदै समानताका विषय व्यवहारमा लागू गर्नुपर्ने बताए।
धुनिबँेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सामुदायिक रेडियोले स्थानीय सरकारलाई सघाइरहेको बताउँदै सरकार र सामुदायिक रेडियोको सम्बन्ध नङ र मासुको जस्तै रहेको धारणा व्यक्त गरे।
महिला अधिकारकर्मी लिली थापाले महिलाको योगदानको कदर नभएकाले त्यसतर्फ महिला पत्रकार सक्रिय रहन आग्रह गरे। धादिङ गल्छी गाउँपालिका–६ मा दुई दिनसम्म चल्ने राष्ट्रिय परामर्श कार्यक्रमले महिलाका सवाल पहिचान गर्ने बताइएको छ। रासस