काठमाडौँ, २० माघ – नेपाली चलचित्र ‘बुलबुल’को दोस्रो गीत ‘ज्यादै बस्यो दिल’ सार्वजनिक भएको छ। यस गीतले नायिका स्वस्तिमा खड्काको पीडा बोलेको छ। शनिबार भृकुटीमण्डपको इन्फोटेक कार्यक्रममा निर्माण टिमले गीत सार्वजनिक गरेको हो। चलचित्र आगामी फागुन ३ गते प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रका निर्देशकमा विनोद पौडेल रहेका छन्। यसमा नायिका स्वस्तिमालाई नयाँ भूमिकामा देख्न सकिनेछ। नायिका स्वस्तिमाले भनिन्, ‘यस चलचित्रलाई मैले आफ्नो करियरकै कोशेढुंगो हुनेमा आशा राखेकी छु।’ उनले पहिलो पटक चुनौतीपूर्ण भूमिका निर्वाह गरेका कारण चलचित्र दर्शकमाझ प्रतीक्षित बनेको छ।
सार्वजनिक गीतमा उद्गम परियार र उदयराज पौडेलको सङ्गीत रहेको छ। यस गीतमा रजिना रिमालको आवाज सुन्न सकिन्छ। त्यस्तै मनिकला पौडेलको शब्द संयोजन र सुमन प्रजापतिको छायाङ्कन रहेको छ।
अविरल थापा यस चलचित्रका निर्माता हुन् भने राजाराम दाहाल कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छन्। उनीसँगै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयस पाण्डे, सृष्टि भट्टराई, उज्ज्वल अधिकारी आदिको अभिनय रहेको छ।
यस चलचित्रमा कोशिश क्षेत्री र उद्गमको सङ्गीत र निश्चल बस्नेत तथा रजिना रिमालको आवाज रहेको छ। ‘बुलबुल’को यसअघि ‘खुद्रा खाद्री माया’ बोलको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ। सार्वजनिक गीत र ट्रेलर दुवैमा स्वस्तिमालाई टेम्पो चालकका रूपमा देखिएको छ।