एजेन्सी– चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन्। सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ।आगोबाट असर नपरोस् भनेर करिब ९० हजार ग्राहकको बिजुली काटिएको छ।
भालपाराइसोका मेयर जोर्ग सार्पले सो आगो सुनियोजित रुपमा लगाइएको हुन सक्ने जनाएका छन्। आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। आपतकालीन उद्धारकर्ताहरु अहिले त्यहाँ खटिइरहेको जनाइएको छ।
मेयरले ठूलो हुरी चलेको र तापक्रम पनि बढी भएकाले आगलागी फैलिन मद्धत गरिरहेको बताएका छन्। आगलागीबाट करिब १२० हेक्टर क्षेत्रको घाँसे मैदान पहिला नै सखाप भएको छ। भाल्पाराइसो मध्य चिलीमा पर्दछ। यो क्षेत्र दक्षिण अमेरिकाको पर्यटक गन्तव्यको रुपमा समेत चिनिने गरेको छ। सो आगलागी जंगलबाट शुरु भएको जनाइएको छ। बीबीसी