एजेन्सी–रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई एउटा प्रश्न सोधेको आधारमा रुसी पत्रकार एलिसा यारोभ्स्कायाको सरकारी टीभी च्यानल यमल–रिजनको जागिर गएको छ। राष्ट्रपति पुटिनले हालै आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए। त्यसको भोलिपल्ट पत्रकार जागिरबाट बिदा भएकी हुन्। केही रिपोर्टहरुमा जनाइएअनुसार उत्तर पश्चिम साइबेरियाको आर्कटिक यमल क्षेत्रका अधिकारीहरुले उनको प्रश्नलाई लिएर असन्तुष्टि जनाएका थिए।
यारोभ्स्कायाले भने आफूले व्यक्तिगत रुपमा राजीनामा दिएको बताएकी छन्। तर, यो घटनाले रुसी शासकहरुलाई जवाफदेही बनाउनका लागि त्यहाँका पत्रकारलाई कति अप्ठेरो अवस्था छ भन्ने देखाएको छ। १९ डिसेम्बरका दिन करिब ३ घण्टा सम्म रुसी राष्ट्रपति पुटिनको पत्रकार सम्मेलन भएको थियो। सोही क्रममा यमल क्षेत्रका पत्रकारलाई माइक्रोफोन हस्तान्तरण गरिएको थियो। एलिसाले माइक्रोफोन लिइन्।
यद्यपि सो क्षेत्रबाट अर्का टीभी पत्रकारलाई पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले प्रश्नका लागि रोजेका थिए। उनले आफ्नो क्षेत्रमा विश्वव्यापी उष्णताको प्रसंगमा प्रश्न सोधेकी थिइन्। उनको भनाइ आर्कटिक सी क्षेत्र पग्लिँदै गएको भन्ने प्रसंगमा थियो। स्थानीय पूर्वाधार, रेललगायत बनाइएको तर ओब नदीको पुल निर्माण कार्य भने रोकिएको उनले बताएकी थिइन्।
त्यो पुलको मतलब स्थानीय दुई सहर जोड्ने कुरासँग सम्बन्धित रहेको छ। जसले सालेखर्ड र लेबीनांगीलाई जोड्छ। उनले आफ्नो क्षेत्रको गभर्नर डिमित्री आर्कियुखोभले यसलाई वास्तविकतामा परिणत गर्न केही नगरेको मात्रै भनिनन् यो विषय संघीय तहमा पनि कम मात्रै चर्चा हुने गरेको सुनेको पनि जनाइन्। के यसमा संघीय तहको ध्यान जाला भनेर उनले प्रश्न सोधेकी थिइन्।
पुटिनले एउटा कुनै निश्चित परियोजनामा संघीय सरकारले ध्यान दिनु उपयुक्त नहुने जवाफ दिएका थिए। तर ओब पुललाई सो क्षेत्रको यातायात पूर्वाधारका लागि महत्वपूर्ण रहेको बारेमा सरकारलाई थाहा भएको र सरकारले ध्यान दिने बताएका थिए।
तर, स्थानीय अधिकारी तथा टीभीका हाकिमहरुले उनको प्रश्न र अर्कोलाई दिन खोजेको माइक्रोफोन उनले प्रयोग गरेको भन्ने विषयलाई लिएर असन्तुष्टि जनाएका थिए। त्यही भएर उनले बर्खास्तमा पर्नुभन्दा राजीनामा दिएको हुन सक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन्। बीबीसी