एजेन्सी– जापानमा पछिल्लो समय स्कुल जान नमान्ने बालबालिकाहरुको सङ्ख्या वृद्धि भइरहेको छ।यस गतिविधिलाई जापानी भाषामा त्यहाँको शिक्षा मन्त्रालयले नै ‘फुतोको’ नाम दिइएको छ।यसरी स्कुलबाट बाहिरिने बालबालिका बढ्दै जानुले यसमा बालबालिकाहरुको दोष नभएर स्कुल प्रणाली जिम्मेवार रहेको बताइएको छ।
दश वर्षीय युता इतो, आफूले स्कुलमा महसुस गरिरहेको अवस्थाबारे बताउन लामो समय पर्खिए । पारिवारिक भेलाका क्रममा उनले सबै समक्ष आफूलाई स्कुल जान मन लाग्न छाडिसकेको स्वीकारेका हुन्।महिनौँदेखि उनी जबरजस्ती स्कुल गइरहेका थिए भने कतिपय दिनहरुमा विभिन्न बाहानामा जान मान्दैनथे।
यस्तोमा उनी कक्षाका साथीहरुबाट अपहेलित भएको र बारम्बार झैझडामा संलग्न रहेको थाहा भएको हो जसपछि उनका बाबुआमासँग तीनवटा विकल्प बाँकी रहे – उनलाई स्कुलकै परामर्श कक्षामा राखिदिने र आगामी दिनहरुमा यसमा सुधार आउने अपेक्षा गर्ने नत्र उनलाई घरमै राखेर पढाउने अथवा एक स्वतन्त्र स्कुल पठाउन सुरु गर्ने।उनीहरुले यसमा सबैभन्दा अन्तिम विकल्प चुनेका हुन्। अहिले युता एक स्वतन्त्र विद्यालयमा पढ्छन् र दिनभर आफूलाई जे मनलाग्यो त्यही गरेर बिताउँछन्। उनी पहिले भन्दा धेरै खुसी रहेको उनको परिवारको भनाइ छ।
युता जापानका त्यस्ता कैयौँ फुतोको मध्येका एक हुन्। फुतोको भनेको स्वास्थ्य वा आर्थिक अवस्थासँग असम्बिन्धत कारणले ३० दिन भन्दा लामो समय स्कुल नजानु हो।यसलाई ‘स्कुल फोबिया’ पनि भन्ने गरिएको छ। यसरी फुतोकोप्रतिको धारणा पछिल्ला केही दशकमा परिवर्तित भएका हुन्।१९९२ सम्म पनि स्कुल जान नमान्नुलाई एक किसिमको मानसिक बिमारी मानिन्थ्यो।तर १९९७ मा यसलाई फुतोको नाम दिएर साधारण रुपमा लिन थालिएको हो।
यसरी अक्टोबरमा मात्र जापानी सरकारले प्रारम्भिक र माध्यमिक तहका विद्यार्थीहरुमा स्कुल नजानेको सङ्ख्याले हालसम्मकै उच्च रेकर्ड बनाइ १ लाख ६४ हजार बढी पुगेको जानकारी सार्वजानिक गरेको थियो।
फुतोकोहरुको बढ्दो सङ्ख्याकै कारण सन् १९८० को दशकमा स्वतन्त्र स्कुलको अभियान सुरु भएको हो ।यिनलाई वैकल्पिक स्कुलका रुपमा लिइन्छ जसमा प्रत्येक विद्यार्थी स्वतन्त्र हुन्छन् र व्यक्तिगत सिद्धान्तमा सञ्चालन गर्ने गरिएको छ।यसरी साधारण विद्यालयको सट्टा वैकल्पिक स्वतन्त्र स्कुल जानेहरुको सङ्ख्यामा केही वर्ष यता अधिक वृद्धि भएको छ ।तर स्कुलबाट बाहिरिनुको दिर्गकालीन परिणाम समस्याजनक हुने गरेकाले यो समस्यालाई गम्भीरतापूर्वक लिइनुपर्ने बताइएको छ।
यसका कारण युवाहरु समाजबाट एक्लिँदै जाने र आफूलाई लामो समयसम्म कोठामा बन्द गरेर राख्ने गरेका छन् जसलाई ‘हिकोमोरी’ भनिन्छ।अझ यो भन्दा पनि आत्महत्याको सम्भावनाप्रति अझ बढी चिन्ता व्यक्त गरिएको छ।२०१८ मा स्कुले विद्यार्थीहरुमा आत्महत्याको दर हालसम्मकै उच्च पुगेको थियो।
विशेषगरी पारिवारिक अवस्था, साथीहरुसँग व्यक्तिगत समस्या, अपहेलाना र दुर्व्यवहारको शिकार हुनेकारण नै बालबालिकाहरुले स्कुल मनपराउन छाड्ने गरेको शिक्षा मन्त्रालयको सर्वेक्षणले देखाएको छ।
प्रायः विद्यार्थीहरुले आफू कक्षाका अरु साथीसँग मिल्न नसकेको र कहिलेकाहिँ शिक्षकसँग पनि समस्या भएकाले बाहिरिने गरेको बताउँछन् । तोमोए मोरिहासी पनि यही अवस्थाबाट गुज्रिएकी हुन्।
१२ वर्षीया तोमोए भन्छिन्, “मलाई स्कुलमा धेरै मान्छेसँग असहज महसुस हुन्थ्यो। यसकारण पनि मेरो स्कुल जीवन अधिक पिडादायी रह्यो ।”अहिले तोमोए पनि युता जसरी नै स्वतन्त्र स्कुलमा पढ्छिन्।त्यहाँ उनीहरुलाई व्यक्तिगत रुची अनुसारका शीपमा केन्द्रित रहन प्रोत्साहित गरिन्छ।
प्रोफेसर उचिनदाका अनुसार शिक्षा मन्त्रालयले अहिले स्कुलबाट बाहिरिने घटनालाई अनियमित भन्दा पनि ट्रेन्डका रुपमा स्वीकारिरहेको छ। उनका अनुसार फुतोको बालबालिकाहरु आफैँमा समस्याग्रस्त हैनन् र केबल एउटा सहज वातावरण प्रदान गर्न नसकेको शैक्षिक प्रणाली विरुद्ध प्रतिक्रिया मात्र जनाइरहेका छन्।
अहिले जापानका पाँच लाख भन्दा धेरै युवाहरुले समाजलाई बहिस्कार गरि कोठाबाट बाहिर ननिस्कने गरिरहेका छन् जसलाई नै हिकिकोमोरी भनिएको हो।यस्तो अवस्थामा तिनका परिवारलाई के गर्ने भन्ने थाहा नहुँदा यो समस्याले धेरै ठूलो रुप लिइरहेको छ।
तर एक सामाजिक संस्थाले युवाहरुलाई तिनको एक्लोपनाबाट बाहिर निकाल्न मद्दत गर्नका लागि विभिन्न प्रयास गरिरहेको छ। बीबीसी