सुर्खेत– स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ। सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका छन।
स्थानीयको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि भइरहेको सर्भे रोकिएको हो। राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयबीच सहमति जुट्न सकेको छैन। पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सङ्घीय सडक बोर्डले ट्रयाक खोलिएका दुई सडकलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताएका छन्।
स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले सहजीकरण गर्नुपर्ने उनको सुझाव छ। नगर प्रमुख थापाका अनुसार पञ्चपुरी नगरपालिकाको वडा नं २ बेनीघाटदेखि वडा नं ६ जाने र वडा नं ३ को सालकोट हुँदै वडा नं ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ। पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका स्थानीयसँग छलफल अघि बढाएको जनाए।
उनले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताएका छन। ‘सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइराखेको छ, धेरै दिन सर्भे रोकिनुहुन्न भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ’, उनले भने। डिपिआर तयार गर्ने जिम्मा सिल्टर सिआरसी र जिओकम जेभी ललितपुरले पाएको छ। आन्दोलित स्थानीयले पञ्चपुरी नगरपालिका–२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन्।
असन्तुष्ट स्थानीयले सङ्घर्ष समिति गठन गरेर सर्भे रोक्नुका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन्। सङ्घर्ष समितिका संयोजक झक्कबहादुर सिजापतिले बढी जनसङ्ख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क गरे। उनले आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने बताएका छन्। (रासस)