बाजुरा– कार्यालय अवधिमा फेसबुक चलाउँदा कामकाज प्रभावित हुने भएपछि बडिमालिका नगरपालिकाले फेसबुकमा प्रतिबन्ध लगाएको छ। कार्यालय समयमा कर्मचारीहरु धेरै फेसबुकमा मात्र झुन्डिने, कामकाजमा ध्यान नदिने, सेवाग्राही प्रति उत्तरदायि नहुने समस्या देखिएकोले कार्यालय अवधिभर फेसबुक बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाले वल्र्ड लिंक नामक प्राईभेट इन्टरनेट जडान गरेको छ। नगरपालिकाका वडा र केही विद्यालयमा इन्टरनेट जडान सेवा सञ्चालनमा रहेकोले सबैतिर कामकाज प्रभावित बनेको निष्कर्ष नगरपालिकाको छ। यसै कुरालाई मध्यनजर राख्दै प्रविधिशाखाले अनलाइनहरु र अन्य सबै साईट खोल्ने तर फेसबुक नचल्ने बनाएको सूचना अधिकारी हेमबहादुर थापाले बताएका छन्।
विद्यालय, वडामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरु फेसबुकमा व्यस्त हुने र अन्य कामकाज प्रभावित हुँदै गएकाेले बाध्य भएर नगरपालिकाले फेसबुक सञ्चालन गर्न बन्देज गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन्। उनले भने, "इमेल इन्टरनेट सेवाबाट सञ्चालन हुने कामकाजमा पनि समस्या हुने र दैनिक काम नै प्रभावित हुने भएपछि फेसबुक चलाउन बन्देज गरेको हो।"
निर्णय कर्मचारी देखि लिएर जनप्रतिनिधी सबैका लागि फेसबुक बन्देज गरिएको र निर्णय नमानेको खण्डमा कार्य सम्पादन मूल्याकंनमा कमजोरी देखाउने तयारीमा नगरपालिका रहेको नगर प्रमुख बडुवालले जनाएको छ। यसका साथै काममा गतिदिन र सेवाग्राही प्रति जिम्मेवार बनाउन आफूहरु लागिपरेको र अरुले पनि कार्यालय समयमा फेसबुक बन्देज गर्नुपर्ने कुरालाई जोड दिँदै उनले थपे।
कार्यालय समयमा फेसबुक बन्द गर्ने निर्णय बडिमालिका नगरपालिका जिल्लाको मात्र नभई देशकै अगाडि आवश्यक देखिएको छ। हातमा मोबाईल लिएर कर्मचारी आआफ्नै धुनमा बस्ने र कामलाइ बेवास्ता गर्ने परिपाटी हाबी हुँदै गएको छ। सूचना र प्रविधिको दुनियाँमा फेसबुक जति सूचनामा सहज छ, त्यति नै काममा बाधा र्पुयाउने माध्यमपनि फेसबुक बनेको छ।