एजेन्सी– भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एयरटेलले देशमै पहिलो पटक भ्वाइस ओभर वाई–फाई सेवा सुरु गरेको छ। केन्द्रीय प्रदेश दिल्लीबाट सुरु भएको एयरटेल वाई–फाई नामक यो सेवा क्रमशः देशभर विस्तार गर्ने कम्पनीको योजना रहेको छ।
यस प्रविधिमा मोबाइलको सिग्नल नभएको अवस्थामा समेत वाई–फाई मार्फत कल गर्न सकिन्छ। स्काईप, फेसटाइम, डुओ जस्ता सेवाभन्दा फरक किसिमले वाई–फाई कलिङका लागि प्रयोगकर्तासँग भएकै फोन नम्बर प्रयोग गर्न सकिन्छ। यसले ह्वाट्सएप कल जसरी नै काम गर्छ तर छुट्टै एप डाउलोड गरिरहनुपर्ने झञ्जट यसमा हुँदैन।
मोबाइल नेटवर्कमा कल ड्रपको समस्या पछिल्लो केही वर्षमा नाटकीय रुपमा बढेपछि यस किसिमको समस्यालाई हल गर्न दूरसञ्चार कम्पनीहरुले विकल्पमा वाईफाई कलिङ प्रविधिमा लागेका हुन्। मोबाइल नेटवर्कले काम नगर्दा पनि वाईफाई कलिङले राम्रो गुणस्तरको स्मुथ भ्वाइस कल गर्ने सहजता प्रयोगकर्ताहरुले पाउँछन्। तर वाईफाई कलिङका लागि उच्च गतिको नेटवर्क कनेक्सन भने आवश्यकता पर्छ यसले प्रयोगकर्तालाई एचडी भ्वाइस कलको अनुभव दिन्छ।
अमेरिकामा भने यस किसिमको सेवा सन् २०१४ देखि नै सञ्चालनमा छ। तर नेपालमा भने भ्वाइस सेवामा केन्द्रीत भएर थप लगानी गर्ने संभावना तत्काल देखिएको छैन। कुनै पनि सेवा प्रदायककाे तर्फबाट त्यस किसिमको सेवा सञ्चालनका लागि हालसम्म प्राधिकरणमा सम्पर्क नगरेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।