एजेन्सी– फिफा वर्ष खेलाडी २०१९ को अवार्ड बार्सिलोनाका स्टार लियोनल मेसीले जिते। केही प्रतिनिधि र प्रशंसकले भोट हेराफेरीको आरोप पनि लगाएका थिए। जसमध्ये एक थिए, सुडानका प्रशिक्षक ड्राभको लुगारिसिक। उनको दाबीअनुसार पहिलो रोजाइमा लिभरपुलका मोहमद सलाहलाई भोट हालिएको थियो ।
तर, पछि नतिजा मेसीको नाममा आयो। सलाह फिफा अवार्डको शीर्ष तीनभित्र नै परेनन्। लुगारिसिकको दोस्रो रोजाइमा सलाहकै साथी साडियो माने र तेस्रो रोजाइमा पीएसजीका केलियन एम्बाप्पे थिए। तर, अन्त्यमा उनको भोट क्रमशः मेसी, भान डाइक र साडियो मानेलाई गएको देखिन्छ।
त्यसै गरी, सलाहले आफ्नै देशका सहकर्मी र प्रशिक्षकको समेत भोट नपाएको चर्चा चलेको थियो। दुवैले उनीहरूको भोट दर्ता नगरिएको आरोप लगाए। इजिप्सियन तथा एस्टनभिल्लाका स्टार अहमद एलमोहामदीले सलाहलाई दिएको भोट सूचीकृत नै नभएको आरोप लगाए। अहमदसँगै इजिप्टका ओलम्पिक प्रशिक्षक सक्की घरिवले पनि भोट दर्ता नभएको आरोप लगाए।
सलाह शीर्ष तीनभन्दा बाहिर भए पनि मिलानमा अवार्ड समारोह हुनुभन्दा पहिले नै बाहिरिएका थिए। लिभरपुलका सहकर्मी भर्जिल भान डाइक मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा अगाडि पुरस्कार जित्ने अभियानमा थिए। मेसीले विश्वभरका प्रशंसकको अपेक्षाविपरीत डाइकलाई पछि पारिदिए।