काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौंमा साँझ ५–६ बजेनै सुनसान हुने गरेको बताएका छन्। तर राजधानीमा पर्यटन आकर्षण गर्नको लागि रात्रीकालीन गतिविधिमा बढी सर्किय हुनुपर्ने जनाएका छन्।
बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने राजधानी ५–६ बजे नै सुतिसक्छ तर भ्रमण वर्षमा नाइटलाइफ जीवन्त राख्न निकै आवश्यक रहेको र मठमन्दिरलाई लाइटिङ गर्नुपर्ने धारणा राखेकाछन्।
मन्त्री भट्टराईले भ्रमण वर्षमा सक्रिय सहभागिताका लागि सबै स्थानीय तहलाई आग्रहसमेत गरे। उपत्यकाभित्रका सम्पदा जोड्ने गरी बस चलाउन सक्ने सम्भावनाबारे अध्ययन गर्नको लागि पनि अनुरोध गरे। बुधबार मन्त्रालयले काठमाडौं उपत्यका भित्रका स्थानीय तहका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीबारे छलफल गरेको छ।
उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा भन्दा विदेशमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्न सुझाव दिए। उनले भ्रमण वर्षमा काठमाडौं महानगरपालिकाले सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे।