एजेन्सी– २२ बर्षीया एक ह्याकरले अमेरिकी कम्पनी एप्पलको ३० करोड आइफोन ह्याक गरेर फिरौती मागेर ब्लाकमेल गरेका छन्। तर उनलाई अहिले यो निकै महङगो पर्न गएको छ।
यि ह्याकर युबकले ३० करोड आइफोन ह्याक गरी आइक्लाउड अकाउन्टका डाटा हात पारेका थिए। त्यसपछि उनले ती आइफोनहरूका सम्पूर्ण डाटा डिलिट गरिदिने अर्थात् फ्याक्ट्री रिसेट गरिदिने भन्दै धम्की दिएर फिरौतीको माग गरेका थिए।
टर्किस क्राइम फेमिलीनामक ह्याकिङ्ग ग्रुपका सदस्य केरेम अलबायरक करोडौँ आइफोन रिसेट गरिदिने भन्दै एप्पलसँग क्रिप्टोकरेन्सीका रुपमा ७५ हजार डलर वा १ लाख डलर बराबरको आइट्यून्स गिफ्ट कार्ड फिरौती मागेका थिए। ह्याकरको फिरौती मागका विषयमा एप्पलले अमेरिकाको कानून प्रवर्तन एजेन्सी तथा नेसनल क्राइम एजेन्सीमा उजुरी गरेको थियो। अन्ततः सन् २०१७ मा ती युवक उत्तरी लण्डनस्थित आफ्नै घरबाट पक्राउ परे।
उनीसँगबाट केही स्मार्टफोन, कम्प्युटर र हार्ड ड्राइभ बरामद गरिएको थियो। लण्डनस्थित साउथवार्क क्राउन कोर्टले अलबायरकलाई हालै २ वर्षको जेल र ३ सय घण्टा निःशुल्क श्रमदान गर्नुपर्ने फैसला सुनायो। साथै अदालतले उनलाई ६ महिनाको इलेक्ट्रोनिक्स कफ्र्युको पनि आदेश गरेको छ।