काठमाडौं— भारतकी चर्चित गायिका आशा भोस्ले नेपाल आई पुगेकी छिन्। बुधबार साधना कला केन्द्रको निमन्त्रणामा उनी यहाँ आएकी हुन्।
भि.एस निकेतनका विद्यार्थीहरुले भारतीय गायिका आशा भोस्लेकोे त्रीभुवन अन्तराष्ट्रिय विमान स्थलमा सांस्कृतिक पोशाक लगाएर भव्य स्वागत गरेका छन्। भोस्लेले शनिबार सङ्गीतकार रन्जीत गजमेरको सङ्गीतमा केही गीत प्रस्तुत गर्ने छिन्। उनलाई नेपालका ३५ जना कलाकारले साथ दिने केन्द्रका निर्देशक मिलन मोक्तानले जानकारी दिए।
यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपाझा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन्। भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ–नयाँ सजाऔं है संसार’, ‘के सोचें मैले, के भयो अहिले’, ‘किन बढ्दैछ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ कहिल्यै’ लगायत थुप्रै नेपाली गीत गाएर नेपाली भाषा र सङ्गीत क्षेत्रमा ठूलो योगदान र्पुयाएकी छिन्।
भोस्लेको नेपाल आगमन ‘भ्रमण वर्ष २०२०’ का लागिसमेत प्रभावकारी बन्नसक्ने आयोजकको भनाइ छ। ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको भ्रमणसमेत गर्ने बताइएको छ।