एजेन्सी– हालै अनुसन्धान फर्म लेचम्यान रिसर्च ग्रुपले गरेको पछिल्लो अध्ययनअनुसार अमेरिकी घरहरुमध्ये करिब ८५ प्रतिशत घरहरु इन्टरनेटमा जोडिएका छन्। इन्टरनेट जोडिएकामध्ये करिब ८२ प्रतिशत घरधुरीले ब्रोडबयाण्डको स्पीडको इन्टरनेट प्रयोग गरिरहेका छन जबकी यस्तो घरधुरी संख्या सन् २०१४ मा ७९ प्रतिशत मात्र रहेको थियो।
१ हजार १ सय २१ घरधुरीमा गरिएको अध्ययनमध्ये मोबाइल इन्टरनेटको प्रयोगपनि निरन्तर बढिरहेको देखिएको अध्ययन सर्वेक्षणको रिपोर्टमा उल्लेख गरिएको छ। सन् २०१४ मा ५९ प्रतिशत अमेरिकीहरुको घर र मोबाइल फोन दुबैमा इन्टरनेटको पहुँच रहेको थियो। अहिले यो संख्या बढेर करिब ७५ प्रतिशत पुगेको छ।
रिपोर्टअनुसार इन्टरनेटमा बिताउने औसत समयमा पनि वृद्धि हुँदै गएको छ। यो २.८ घण्टा प्रति दिनबाट बढेर ३.७ घण्टा प्रति दिन पुगेको हो। करिब ८१ प्रतिशत वयस्कहरु स्मार्टफोनमार्फत अनलाइन जाने गरेका छन भने घरमा मात्र इन्टरनेट हुने संख्या २०१४ को २५ प्रतिशत बाट घटेर २०१९ मा १० प्रतिशतमा पुगिसकेको छ।
यसबाहेक इन्टरनेट सेवा हुने घरहरुमध्ये करिब ५० प्रतिशत घरधुरीका मानिसहरु दैनिकरुपमा अनलाइनमा भिडियो हेर्ने गर्दछन्।