काठमाडौं– बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ।
नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए। ‘उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ’, प्रमुख खरेलले भने।
रु बीस करोड लगानी रहने सङ्ग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहने छन्।
सङ्ग्रहालयमा नेपालबाट लोप भइसकेका वा हुन लागेका झोलुङ्गे पुल, पानीघट्ट, माछापोखरीलगायतका प्रतिकृति पनि राखिने बताइएको छ।
प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य छ। प्रदेशसभा सदस्य दीपक निरौलाले अबको दुई वर्षमा सङ्ग्रहालय निर्माण हुने बताए।
‘तामाङ सभ्यतासँग जोडिएको सङ्ग्रहालय निर्माण भएपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने छ’, उनले भने। (रासस)