काठमाडौ– उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो।
यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो। ‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ मौसमविद् विभूति पोखरेलले भनिन्, ‘तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ।’
मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ।
चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
त्यसैगरी दिपालय ४।७, दाङ ३।५, पोखरा ८।५, सिमरा ६।५, धनकुटा ६।५ र ओखलढुङ्गाको ४।० डिग्री सेल्सियस मापन गरिएको छ। रासस