एजेन्सी– क्यालिफोर्निया स्थित एउटा स्टार्ट–अप कम्पनीले विश्वको सबैभन्दा ठूलो कम्प्युटर चिप सार्वजानिक गरेको छ। सेरेब्रास सिस्टमले डिजाइन गरेको ‘गेफर स्केल इन्जिन’ २१.५ सेन्टिमिटर स्क्वायर रहेको छ अर्थात सामान्य आइप्याड भन्दा केही ठूलो छ। फर्मका अनुसार यो एउटै चिप जटिल आर्टिफिसियल इन्टेलिजेन्स, एआइ प्रणालीका लागि पर्याप्त छ जसलाई चालकविहिन गाडी चलाउन देखि ‘सर्भेलिएन्स सफ्टवेयर’ बनाउन सम्ममा प्रयोग गर्न सकिने बताइएको छ।
तरपनि एक विशेषज्ञले सो आविस्कार अहिलेका थुप्रै डाटा सेन्टरमा इन्स्टल गर्न अव्यवहारिक भएको बताएका छन्। यसरी प्रविधिले गति लिँदै गर्दा प्रत्येक वर्ष कम्प्युटर चिप झन सानो र छिटो हुँदै गइरहेकाबेला ठूलो चिप निर्माण अनौठो पनि मानिएको छ। यस्ता दर्जनौँ चिपहरु विशेषगरी सिङ्गो सिलिकन वेफर अर्थात पात्रोमा निर्माण हुने गरेको छ जहाँ यसलाई ससाना टुक्रामा काटेर छुट्याउने गरिएको छ।
यसरी सबैभन्दा शक्तिशाली ‘डेक्सटप सिपियु’ ले तीस प्रोसेसर कोरको प्रयोग गर्दछ जसमा सबै कोरले निर्देशन गरिएका अलग अलग हिसाब एकैपटकमा समाधान गर्न सक्छन्। उता जीपीयु अर्थात ‘ग्राफिक्स प्रोसेसिङ युनिट’ मा भने अझ बढी कोर हुन्छ तर तुलनात्मक रुपमा कम शक्तिशाली हुने गर्दछ । यसले नै परम्परागत रुपमा एआइ प्रक्रियालाई विभिन्न प्राविधिक काम एकैपटक पूरा गर्ने विकल्प प्रदान गर्दै आएको थियो। यसमा एउटा हिसाबको नतिजाले अर्को इनपुट निर्धारित गर्दैन्। जस्तै ‘स्पीच रिकग्निसन’ अर्थात बोली पहिचान प्रणालीमा, ‘इमेज प्रोसेसिङ’ अनि ‘प्याटर्न म्याचिङ’ आदि। सबैभन्दा शक्तिशाली जीपीयुमा ५ हजार कोरसम्म हुन्छ। तर सेरेब्रासको नयाँ चिपमा भने चार लाख कोर रहेका छन् जुन एकअर्कासँग उच्च ‘ब्यान्डविथ कनेक्सन’ ले जोडिएको हुन्छ।
फर्मका अनुसार यसमार्फत अन्य विकल्पहरुको तुलनामा थोरै समय र कम बिजुलीको आवश्यकतामै जटिल मसिन लर्निङका चुनौतिहरु सामना गर्न सक्छ। वेफर स्केल इन्जिनले महिनौँ लाग्ने जटिल डाटाहरुको प्रोसेसिङ केही मिनेटमै पूरा गरि धेरै समय बचाउने फर्मको दाबी रहेको छ । यसका संस्थापक एन्ड्रयु फेल्डमनले भनेका छन् कि चिपको सिमित आकारको दशकौँको प्राविधिक चुनौति पार गर्न यसले ठूलो मद्दत गरेको छ। सेरेब्रासले अहिले नै यसका हार्डवेयर केही ग्राहकहरुलाई विक्री गर्न सुरु गरिसकेको छ तर यसको मूल्य भने सार्वजानिक गरेको छैन।
यसरी यो चिपले अत्यन्तै तिव्र गतिमा प्रोसेसिङको काम गर्ने भएपनि डाक्टर इआन कल्ट्रेसले यसका केही नकारात्मक पक्षमाथि केन्द्रित गराएका छन्।
आनन्द टेकका वरिष्ठ सम्पादक डाक्टर इआनका अनुसार साना कम्प्युटर चिपहरु प्रोसेसिङका क्रममा तातेपनि त्यसलाई चाँडै चिसो पार्न सकिन्छ तर ठूलो चिपहरुको प्रयोग गर्दा भने तिनलाई सपोर्ट गर्न विशेष उपकरणहरु चाहिन्छ जसले यसलाई धेरै हद्सम्म अव्यवहारिक बनाउन सक्छ। तरपनि आर्टिफिसियल इन्टेलिजेन्सका लागि भने यो उपयुक्त हुन सक्छ जहाँ हाल अत्याधिक लगानी भइरहेको छ।
सन् २०१६ मा गुगलले पनि टेन्सर प्रोसेसिङ युनिट, टिपीयु चिप निर्माण गरेको थियो जसले भाषा अनुवाद एप लगायत विभिन्न जटिल सफ्टवेयरलाई ऊर्जा प्रदान गर्न सक्ने बताइएको थियो । त्यही वर्ष चीनको हुवावेले पनि एआइका काममा अत्याधिक प्रयोग हुने म्याट्रिक्स र गुणाको हिसाबको गति बढाउन स्मार्टफोन किरिन चिप निर्माण गरेको घोषणा गरेको थियो।
तर यस्ता सबै प्रयास सफल भएका छैनन्। जस्तै १९८० को सुरुवाती दशकमा अमेरिकी कम्पनी ट्रिलोगीले आफ्नै सुपर चिप निर्माण गर्न लाखौँ डलर प्राप्त गर्यो। तर सो प्रोसेसर परीक्षण गर्ने क्रममा अत्याधिक धेरै तात्यो र साचेभन्दा कम शक्तिशाली रहेको पाइएको थियो। यसको पाँच वर्षपछि कम्पनीले सो परियोजना रद्द गराएको हो। बीबीसी