पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै विराटनगर टाईटन्स पहिलो पटक फाइनलमा पुगेको छ। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा विराटनगरले बुटवललाई १९ रनले हराएको हो।
विराटनगरले दिएको १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा अल आउट हुँदै १ सय ४४ रन बनायो। उसको लागि अफ्ताबुद्धिन अहमेदलेल २२ बलमा ४३ रन तथा भिम सार्कीले ३४ बलमा ४४ रन बनाए। विराटनगरको बलिङमा शाहब आलमले ४ ओभरमा २६ रन दिँदै ३ विकेट लिए भने पुनित मेहराले ३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए।
त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। उसका लागि सुनिल धमलाले अर्धशतकीय पारी खेले। उनले ५४ बलको सामना गरेका उनले २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाएका थिए। विराटनगरका कप्तान प्रदिप ऐरीले अविजित ३३ रन, जैद आलमले २० रन, लोकेश बम र पुनित महराले समान १९ रनको योगदान दिएका थिए।
बुटवलका हर्ष टंकले २ विकेट लिएका थिए। यस्तै ललित भण्डारी र अविनास बोहराले समान १–१ विकेट लिए। चितवन राईनोज अपराजित रहँदै यसअघि नै फाइनलमा पुगिसकेको छ। उपाधिको लागि विराटनगर र चितवन भिड्नेछन्।