photo :makalu khabar
काठमाडौं _कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्षमा प्रतिष्ठानका डा निरेश थापा नियुक्त भएका छन्।
प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णयबाट आज डा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन्।
प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले गत मङ्सिर ३० गते शिक्षाध्यक्ष नियुक्तिका लागि डा थापा, डा. भरतमणि पोखरेल र डा बद्री बडूलाई सहकुलपति समक्ष सिफारिस गरेका थिए।
निवर्तमान शिक्षाध्यक्ष डा धर्मराज श्रेष्ठको कार्यावधि जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान शिक्षाध्यक्ष विहीन थियो । सहकुलपति ढकालले डा थापालाई चार वर्षीय कार्यकालसहितको शिक्षाध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले राससलाई जानकारी दिए।
रासससँग कुरा गर्दै उपकुलपति प्रा डा वाग्लेले एक साताअघि प्रतिष्ठानको कार्य परिषद्ले अस्पताल निर्देशकमा प्रतिष्ठानमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावललाई जिम्मेवारी दिइएको बताए । “यतिबेला प्रतिष्ठानमै कार्यरत ऊर्जाशील जनशक्तिलाई जिम्मेवारी दिइएको छ,”उनले भने, “आशा गरौँ, अब प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।” रासस