पोखरा– पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ। पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो।
सेवा सञ्चालन कार्यको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माछापुच्छ्रे, फेवाताल, बेगनास तालजस्ता स्थल र प्राकृतिक सम्पदा मात्र देखाएर यहाँको पर्यटन दिगो र प्रभावकारी बन्न नसक्ने बताएका छन्।
पर्यटक लक्षित नयाँनयाँ पूर्वाधार विकासका साथै पर्यटनमैत्री वातावरणका माध्यमबाट मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको भनाइ थियो। रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले पोखरा र रुपाकोटलाई जोड्न पर्यटक लक्षित यातायात सेवा सञ्चालन गर्न लागिएको बताएका छन्।
फेवाताल किनारास्थित द कल्चर रिसोर्टबाट रुपाकोटसम्म आवतजावत गर्ने गरी दुवैतर्फ छ–छ चरणमा सुविधासम्पन्न सवारीसाधनका माध्यमबाट विभिन्न प्याकेजसहित यातायात सेवाको व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्। रासस