पेखरा– रुपाकोट रिसोर्टले सञ्चालनको पाँचौँ वार्षिकोत्सव एक कार्यक्रमका बीच बिहीबार मनाएको छ। सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले पर्यटकीय नगरी पोखरा र पर्यटनको पर्याप्त सम्भावना बोकेको रुपाकोट जोडिनु अपरिहार्य भएको बताएका छन्।
रुपाकोट रिसोर्टले यहाँको पर्यटकीय पहिचानमा महत्वपूर्ण योगदान गर्नुका साथै पूर्वाधार विकासलगायतमा प्रेरणा दिएको बताएका छन्। बेलायती राजकुमार चाल्र्सले यही क्षेत्रमा पदयात्रा गरेको बताउँदै उनले उक्त पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने कार्यमा गाउँपालिका लागेको बताएका छन्।
पानी, बाटोलगायतका अत्यावश्यकीय पूर्वाधार एवं आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिका लागेको बताउँदै उनले समाजमा केही गर्छु भन्ने सोचका जो कोहीलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रिसोर्टका सञ्चालक अधिकारीले २०० रोपनी क्षेत्रमा रिसोर्ट रहेको बताउँदै विदेशी राष्ट्रका राष्ट्र प्रमुख एवं अन्य अतिविशिष्ट स्तरका पाहुनालाई राख्न सक्ने गरी सुविधासम्पन्न ‘स्वीटरुम’लगायतका पूर्वाधार निर्माण भइरहेको बताएका छन्। हाल जारी पूर्वाधार निर्माणका कामलाई सम्पन्न गरिसक्दा रु एक अर्ब लगानी हुने उनले जानकारी दिएका छन्।
रासस