एजेन्सी– समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ। मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको हो।
समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१ पुगेको सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। यस प्रकोपबाट ५ हजार २१७ व्यक्ति सङ्क्रमित भएका छन्। गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ।
सङ्क्रमित ४३ अस्पतालमा भर्ना भएका छन्। ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ। दादुरा असाध्यै सङ्क्रामक भाइरल रोग हो।
बुधवारसम्म समोआमा लगभग ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ। सिन्ह्वा