काठमाण्डौ–दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्चुगलमा सङ्घर्ष गर्दै छन। उनको यो सङ्घर्ष १० वर्षदेखि जारी छ। सङ्घर्षमा उनलाई पछुतो भने छैन। नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्चुगलमा कामदारका रुपमा छिरेका थिए। तेत्तीस महिनाको नोकरीपछि उनमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो। फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने। साझेदारीमा चलायएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याए।
शेर्पाले ‘माउन्ट एभरेष्ट’का नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको शुरुआत गरे जुन अहिलेसम्म पनि सञ्चालनमै छ। कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने भएका छन। उनी आफूलाई मालिक भन्न भने रुचाउनन्। “कामदारको रुपमा पोर्चुगल छिरे , परिश्रम गरेंँ, रेष्टुरेन्ट खोल्न सक्ने भएँ”, शेर्पाले भने, ‘गर्न नसक्ने भन्ने केही छैन। इच्छा र तत्परता भयो भने सबै सम्भव छ।’
कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्चुगललाई दिन्छन। “मलाई पोर्चुगल आएकोमा कुनै पछुतो छैन”, शेर्पा भन्छन् , “मलाई सिप र क्षमता विकासमा पोर्चुगलले सिकाएको छ।” कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बनेका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्चुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिन्छन। “लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्तुगलबाट मालामाल बन्न समय लाग्दैन”, उनले भने, “काम गर्नुस्, भविष्य आफैंँ बन्छ।”
सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । “नेपाल, भारत, चीन, बङ्गलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तव्य पोर्चुगल बनेको छ”, शेर्पाले भने, “विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।” उनका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ। नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्चुगल आएका नेपालीसँगै भारत, बङ्गलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ।
व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन। व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन । “समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु ”, उनी भन्छन , “परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ।” नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ।रासस